काठमाडौं - चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) ले चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी–१० सिजन–२ आयोजना गर्ने भएको छ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।
युवालाई खेलकुदप्रति आकर्षित गर्दै क्रिकेटलाई सम्मानजनक र व्यावसायिक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य पनि प्रतियोगिताले लिएको छ। प्रतियोगिता २०८३ साल मंसिर १० गतेदेखि १५ गतेसम्म चन्द्रागिरि नगरपालिका–६, गोलढुंगास्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुनेछ।
एसोसिएसनका प्राबिधिक निर्देशक रविन्द्र गुप्ताका अनुसार प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रत्येक समूहमा चार–चार टोली राखिने आयोजकले जनाएको छ। प्रतियोगिता ड्युस बल प्रयोग गरी टी–१० ढाँचामा सञ्चालन गरिने गरिने प्राबिधिक निर्देशक गुप्ताको भनाईछ ।
चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) का अध्यक्ष प्रजिबन प्रधानका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद ७० हजार रुपैयाँ र उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका अतिरिक्त उत्कृष्ट खेलाडीलाई प्रोत्साहन तथा सम्मान गर्न विभिन्न विधामा विशेष पुरस्कारको व्यवस्था गरिएको पनि बताउनुभएकोछ ।
प्रतियोगितामा प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार तथा विजेता र उपविजेता टोलीलाई ट्रफी र मेडल प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्परसमेत प्रदान गरिनेछ ।
एसोसिएसनले प्रतियोगितामार्फत स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवामा अनुशासन, एकता, प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकास हुने विश्वास लिएको छ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न चन्द्रागिरि नगरपालिका, स्थानीय संघसंस्था, खेलप्रेमी, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालासँग आयोजकले सहयोग र सहभागिताका लागि अपिल गरेको छ। प्रतियोगिताका खेलहरू cric.club.com मार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।