हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्यो, धनगढीमा सबैभन्दा बढी वृद्धि

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्यो, धनगढीमा सबैभन्दा बढी वृद्धि

काठमाडौं - नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई टिकटमा लाग्ने इन्धन शुल्क (फ्युल सरचार्ज) बढाएका छन्।

इन्धन शुल्क हवाई टिकटको कुल भाडामै समावेश हुने भएकाले सोमबारदेखि टिकट काट्ने यात्रुले बढेको शुल्क तिर्नुपर्ने भएको हो। नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेसँगै वायुसेवा कम्पनीहरूले सोहीअनुसार इन्धन शुल्क पनि संशोधन गर्ने गरेका छन्।

यसअघि असार १६ गते आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउँदा वायुसेवा कम्पनीहरूले पनि इन्धन शुल्क घटाएका थिए। तर, साउन १८ गतेदेखि इन्धनको मूल्य पुनः बढेपछि कम्पनीहरूले हवाई भाडामा इन्धन शुल्क वृद्धि गरेका हुन्।

संशोधित दरअनुसार काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरै ८८० रुपैयाँले इन्धन शुल्क बढेको छ। काठमाडौंबाट सबैभन्दा टाढाको आन्तरिक गन्तव्य भएकाले यस रुटमा वृद्धि पनि उच्च देखिएको हो। त्यसैगरी, काठमाडौं–सिमरा रुटमा भने सबैभन्दा कम १८३ रुपैयाँले शुल्क बढेको छ।

काठमाडौंबाट सञ्चालन हुने अन्य प्रमुख गन्तव्यहरूमा माउन्टेन उडानमा ६८८ रुपैयाँ, नेपालगञ्जमा ६५४ रुपैयाँ, सुर्खेतमा ६९० रुपैयाँ, भद्रपुरमा ५६० रुपैयाँ, विराटनगरमा ४७८ रुपैयाँ, राजविराजमा ४०५ रुपैयाँ, भैरहवामा ४१० रुपैयाँ, तुम्लिङटारमा ३६८ रुपैयाँ, पोखरामा ३१४ रुपैयाँ, जनकपुरमा २५८ रुपैयाँ र भरतपुरमा २१२ रुपैयाँले इन्धन शुल्क बढेको छ।

वायुसेवा कम्पनीहरूका अनुसार काठमाडौंबाट सञ्चालन हुने अधिकांश आन्तरिक गन्तव्यमा इन्धन शुल्क वृद्धि गरिएको छ, जसका कारण यात्रुले अब हवाई टिकटका लागि पहिलेभन्दा बढी रकम तिर्नुपर्ने भएको छ।

खबरपाटी
खबरपाटी