राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई परिणाममुखी र किसानमैत्री बनाइने : मन्त्री चौधरी

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई परिणाममुखी र किसानमैत्री बनाइने : मन्त्री चौधरी

काठमाडौँ - कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) लाई केवल अनुदान वितरणमा सीमित नराखी किसानको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने परिणाममुखी कार्यक्रमका रूपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
कार्यक्रमको समीक्षा बैठकमा मन्त्री चौधरीले १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत रहेको र गत आर्थिक वर्ष २०८२/८३ मा करिब ८३ प्रतिशत बजेट खर्च भएको उल्लेख गर्दै चालु आर्थिक वर्षमा शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
उहाँले तरकारी, केरा, सुन्तलाजात फलफूल, माछा, अलैंची तथा मसला बालीमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक योगदान दिएको उल्लेख गर्दै अब कार्यक्रमलाई किसानमुखी, पारदर्शी र प्रभावकारी बनाइने बताउनु भएको छ ।

मन्त्री चौधरीले चालु आर्थिक वर्षमै कार्याक्रमको पुनर्संरचना गरी विश्वविद्यालय तथा स्थानीय तहसँगको सहकार्य सुदृढ गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउने गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभएको छ । साथै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ रहेको छ ।

खबरपाटी
खबरपाटी