भारतको बिहार राज्यको बाँकीपुर विधान सभा क्षेत्रको उपचुनावमा जन सुराज पार्टी (जेएसपी)का प्रमुख प्रशान्त किशोर अर्थात पीके विजयी हुनुभएको छ । योसँगै त्यस क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)को करिब तीन दशकदेखिको गढ भत्किएको छ ।
पहिले विभिन्न राजनीतिक दलका लागि चुनावी रणनीतिकारका रूपमा परिचित किशोरले पहिलो पटक प्रत्यक्ष चुनावमा उम्मेदवारी दिएर भाजपाको बलियो आधार मानिएको क्षेत्रमा विजय हासिल गर्नुभएको हो । बाँकीपुर विधान सभा क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनको प्रभाव क्षेत्रमा पर्दै आएको थियो ।
नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा भएको उपचुनावमा किशोरले जित हासिल गर्नुभएको हो । दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी आन्दोलन र नवयुवाको असन्तुष्टिले यस क्षेत्रको चुनावमा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ । धेरै शैक्षिक संस्थाहरू रहेको यस क्षेत्रमा युवा मतदाताको आक्रोशले भाजपालाई ठूलो धक्का दिएको छ ।