काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताउनुभएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो।
उहाँले इन्जिनियरहरू अब केवल प्राविधिक जनशक्ति नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको बताउँदै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास र समृद्धि इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको उल्लेख गर्दै सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार तथा आधुनिक सहरहरूको निर्माणमा इन्जिनियरहरूको योगदान निर्णायक हुने बताउनुभयो।
उहाँले इन्जिनियरिङलाई गणित र विज्ञानको प्रयोगमा मात्र सीमित नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक विधाका रूपमा व्याख्या गर्दै सफल इन्जिनियरले संरचना मात्र होइन, अवसर, विश्वास र भविष्य निर्माण गर्ने धारणा व्यक्त गर्नुभयो।
मन्त्री श्रेष्ठले नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको उल्लेख गर्दै यी लक्ष्य दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबिना पूरा हुन नसक्ने स्पष्ट पार्नुभयो।
उहाँले सरकारी सेवामा प्राविधिक दक्षतासँगै नैतिकता र चरित्रको महत्व पनि उत्तिकै रहेको बताउँदै सहजभन्दा सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने उल्लेख गर्नुभयो। पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न उहाँले नवप्रवेशी इन्जिनियरहरूलाई आग्रह गर्नुभयो।
मन्त्री श्रेष्ठले आधुनिक प्रविधिसँगै निरन्तर अध्ययन, अनुसन्धान र नवप्रवर्तनलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय ज्ञान र आधुनिक प्रविधिको समन्वयमार्फत कम लागतमा गुणस्तरीय तथा दिगो पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पूर्वाधार निर्माणमा गुणस्तरप्रति कुनै सम्झौता गर्न नहुने स्पष्ट पार्दै डिजाइनदेखि कार्यान्वयन र परीक्षणसम्म प्रत्येक चरणमा प्राविधिक मापदण्ड तथा व्यावसायिक नैतिकताको पूर्ण पालना गर्न निर्देशन दिनुभयो।
सम्बोधनको अन्त्यमा मन्त्री श्रेष्ठले समृद्ध नेपालको आधार हजारौँ इमानदार, दक्ष र समर्पित राष्ट्रसेवकहरूको योगदानबाट निर्माण हुने विश्वास व्यक्त गर्दै नवप्रवेशी इन्जिनियरहरूलाई राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्नुभयो।