काठमाडौं – फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दुई देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो शहरतर्फ बढिरहेको छ। डढेलो शहरतर्फ बढेसँगै बोरदोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ।
फ्रान्सका अधिकारीहरूले डढेलो अझै नियन्त्रणबाहिर रहेको जनाउँदै बोरदोबाट करिब ४० देखि ५० किलोमिटर टाढासम्म आगो फैलिएको बताएका छन्। धुवाँ शहरसम्म पुगेपछि बासिन्दाले हावामा तीव्र धुवाँको गन्ध महसुस गरेका छन्।
गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ भने झाडी फाँड्ने र आगो फैलिन नदिन अवरोध निर्माण गर्ने कार्य भइरहेको छ।
युरोपेली संघका विभिन्न देशले पनि सहयोग स्वरूप फ्रान्समा क्रोएसियाबाट तीनवटा क्यानाडेयर विमान, पोर्चुगलबाट दुईवटा एयर ट्र्याक्टर विमान, चेक गणतन्त्र र स्लोभाकियाबाट ब्ल्याक हक हेलिकोप्टर तथा रोमानियाबाट वन डढेलो नियन्त्रण टोली पठाएका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनका अनुसार ईयूको संयुक्त अग्नि नियन्त्रण बेडाबाट फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको छ।
डढेलोका कारण आइतबार हुने तय भएको टुर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण पनि १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरिएको छ, ताकि सुरक्षा निकायलाई डढेलो प्रभावित क्षेत्रमा परिचालन गर्न सकियोस्।
यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशभर फैलिएका करिब ३० वटा डढेलोबारे आपतकालीन बैठक बोलाएका छन्। सरकारले यस अवस्थालाई अभूतपूर्व संकटको संज्ञा दिएको छ।