तनावकाबीच अमेरिका–रुस अन्तरिक्ष सहकार्य निरन्तर

तनावकाबीच अमेरिका–रुस अन्तरिक्ष सहकार्य निरन्तर

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)का लागि अमेरिकी–रुसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याकम्यानले काजकिस्तानस्थित रुसद्वारा सञ्चालित बैकोनुर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गर्नुभएको छ ।

बैकोनुर कोस्मोड्रोममा नासा प्रमुखको यो भ्रमण झण्डै आठ वर्षयताकै पहिलो हो । युक्रेनमा रुसको सैन्य कारबाहीपछि अमेरिका–रुस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै देशबीच सहकार्य निरन्तर रहेको सङ्केतका रूपमा यो भ्रमणलाई हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका  छन् ।

शीतयुद्धका बेला अन्तरिक्ष प्रतिस्पर्धामा रहेका अमेरिका र रुसले अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसहित विभिन्न परियोजनामा सहकार्य गर्दै आएका छन् । सन् २०२२ मा रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेपछि दुई देशबीच राजनीतिक तनाव बढे पनि अन्तरिक्ष क्षेत्रमा सहकार्य भने निरन्तर जारी रहेको छ ।

अन्तरिक्ष यात्रीको टोलीसँगको भेटमा आइज्याकम्यानले मिसनको तयारीमा सहयोग गरेको भन्दै रुसको सरकारी अन्तरिक्ष संस्था ‘रोस्कोस्मोस’प्रति धन्यवाद व्यक्त गर्नुभयो । नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रुसी अन्तरिक्ष यात्री प्योत्र डुब्रोभ र अन्ना किकिना सोयुज एमएस–२९ यानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जाने तयारीमा हुनुहुन्छ  । उहाँहरूले अन्तरिक्ष स्टेसनमा करिब आठ महिना बिताउनुहुनेछ ।

नासाको चन्द्र अनुसन्धानसम्बन्धी ‘आर्टेमिस’ कार्यक्रममा रुसको सम्भावित सहभागिताजस्ता ठूला सहकार्यका योजना भने अघि बढ्न सकेका छैनन् ।

पश्चिमी प्रतिबन्धका कारण रुसले चीनसँग अन्तरिक्ष तथा अन्य प्रविधि क्षेत्रमा सहकार्य विस्तार गरिरहेको छ । रोस्कोस्मोसले आगामी चन्द्र अभियानका लागि चीनसँग सहकार्य शुरु गरेको जनाएको छ ।

खबरपाटी
खबरपाटी