काठमाडौं - नेपालमा स्टार्टअप, फ्रिलान्सर तथा रिमोट वर्क संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ वुल्फ अफिसेसले मण्डीखाटारमा नयाँ प्रिमियम को-वर्किङ स्पेस सञ्चालनमा ल्याएको छ। यसअघि बानेश्वरमा सेवा सञ्चालन गरिरहेको कम्पनीले दोस्रो शाखा विस्तार गर्दै व्यवसायिक कार्यस्थलको पहुँच बढाएको हो।
नयाँ कार्यस्थलमा आठभन्दा बढी स्टार्टअप तथा करिब ६० जनासम्मले एकै समयमा काम गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। आधुनिक पूर्वाधारसहितको यस कार्यालयले उद्यमी, फ्रिलान्सर, डिजिटल नोम्याड, रिमोट कर्मचारी तथा साना–ठूला व्यवसायलाई लचिलो र व्यावसायिक कार्य वातावरण उपलब्ध गराउने लक्ष्य राखेको छ।
को-वर्किङ स्पेससँगै वुल्फ अफिसेसले ‘भर्चुअल अफिस’ सेवा पनि सञ्चालन गरेको छ। यस सेवामार्फत आफ्नै कार्यालय स्थापना नगरी व्यावसायिक ठेगाना आवश्यक पर्ने कम्पनीहरूले आधिकारिक कार्यालय ठेगाना प्रयोग गर्न सक्नेछन्। साथै, कम्पनी दर्ता प्रक्रियामा आवश्यक ठेगाना उपलब्ध गराउने, हुलाक, पार्सल तथा महत्त्वपूर्ण कागजात व्यवस्थापन गर्ने सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।
सदस्यहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले वुल्फ अफिसेसले प्रिमियम हेयर सैलुन लक्ष्मी, हिमालयन जाभा तथा विभिन्न होटलसँग सहकार्य गरेको छ। यस सहकार्यमार्फत सदस्यहरूले विशेष छुट तथा अन्य आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीले क्याफे, होटल तथा अन्य कार्यस्थल प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने तयारी पनि गरिरहेको जनाएको छ। उक्त प्लेटफर्ममार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता र सुविधाअनुसार विभिन्न स्थानमा उपलब्ध कार्यस्थल खोजी गरी प्रयोग गर्न सक्ने व्यवस्था हुनेछ।
विस्तारित सेवा, लचिलो कार्यस्थल र व्यावसायिक सहुलियतमार्फत नेपालमा बढ्दो स्टार्टअप इकोसिस्टमलाई थप सशक्त बनाउने तथा उद्यमी र व्यवसायीका लागि सहज, आधुनिक र पहुँचयोग्य कार्य वातावरण निर्माण गर्ने लक्ष्य वुल्फ अफिसेसले लिएको जनाएको छ।