पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा, होटल व्यवसायीको चिन्ता अन्त्य हुने प्रधानमन्त्री शाहको विश्वास

पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा, होटल व्यवसायीको चिन्ता अन्त्य हुने प्रधानमन्त्री शाहको विश्वास

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाइसकेको भन्दै होटल व्यवसायीहरूले व्यक्त गर्दै आएको चिन्ता अब क्रमशः अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गर्दै कानुनको पालना र व्यावसायिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पर्यटन क्षेत्रको विकासका सम्भावनाबारे अध्ययन गर्न हानलाई आग्रह गर्नुभयो।

छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको उपस्थितिमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको उल्लेख गर्नुभयो। पर्यटक आगमन बढेमा आन्तरिक रोजगारी विस्तार हुने र वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने उहाँहरूको भनाइ थियो।

हानले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र क्रस–बोर्डर पर्यटनको उच्च सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मका होटलका लागि लागू गरिएको संक्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा ५० शय्यासम्म विस्तार गर्न तथा होटल क्षेत्रसँग सम्बन्धित कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेको छ।

व्यवसायीहरूले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगसम्बन्धी रोयल्टीको व्यवस्था परिमार्जन गरी आपसी समझदारीका आधारमा शुल्क निर्धारण गर्नुपर्ने माग पनि राखेका छन्।

त्यसैगरी, डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटन प्रवर्द्धनका लागि ‘फुल स्टोरी टेलिङ’ सहितका प्रचारात्मक प्याकेज तथा विशेषज्ञहरूको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरिएको छ।

छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी हुनुहुन्थ्यो।

खबरपाटी
खबरपाटी