काठमाडौं - शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा-१२ नतिजा प्रकाशनमा कुनै पनि हतार नगरिएको बताएका छन्। आज(बिहिबार) विद्यार्थीहरूले नतिजामा त्रुटि देखिएको भन्दै आन्दोलन गरेपछि शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालबाट यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको बताए।
उनले भने,‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु। यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ, नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो।’
तथापि, यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति उनले सम्मान व्यक्त गरे।
‘लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ,यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’उनले भने।