कतारको रास लफान ग्यास केन्द्रमा विस्फोट, १८ बेपत्ता र ५४ घाइते

कतारको रास लफान ग्यास केन्द्रमा विस्फोट, १८ बेपत्ता र ५४ घाइते

काठमाडौं – कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा १८ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन्। 

रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन्। कतारको आन्तरिक मन्त्रालयले बेपत्ता १८ जनाको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ। ५४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  आन्तरिक सुरक्षा बल (लेखिया) को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।  कतारले बेपत्ता र घाइते भएका श्रमिकको पहिचान सार्वजनिक गरिसकेको छैन। 

रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो। यो क्षेत्रमा नेपाली श्रमिकहरू स्काफफोल्डिङको काम गर्छन्। सयौं सप्लाई कम्पनीमार्फत श्रमिक आपूर्ति गरिएको छ।

यहाँ युद्धका क्रममा इरानको क्षेप्यास्त्र आक्रमणबाट क्षतिग्रस्त भएको प्राकृतिक ग्यास निकासी टर्मिनललाई पुनः सञ्चालन गर्ने प्रयास भइरहँदा उक्त दुर्घटना भएको हो। 

इरानसँगको युद्ध र इरानले स्ट्रेट अफ हर्मुज (Strait of Hormuz) मा कायम गरेको नियन्त्रणका कारण कतारले आफ्नो ग्यास उत्पादन र आपूर्ति ठप्प पारेको थियो। तर, युद्ध स्थायी रूपमा अन्त्य गर्नका लागि भइरहेको वार्ताका बीच इरानले उक्त जलमार्गमा आफ्नो पकड केही खुकुलो बनाएपछि कतारले आफ्नो निर्यात टर्मिनल पुनः सुरु गर्ने काम अघि बढाएको थियो।

सोही क्रममा आइतबार राति 'बारजान' (Barzan) ग्यास आपूर्ति केन्द्रमा प्राविधिक काम भइरहँदा अचानक विष्फोट भएको सरकारी स्वामित्वको कम्पनी 'कतारइनर्जी' (QatarEnergy) ले जनाएको छ।

प्लानेट ल्याब्स पिबिसि (Planet Labs PBC) ले सार्वजनिक गरेका भूउपग्रहिय (स्याटेलाइट) चित्रहरूमा रास लफान औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको देखिएको छ।

विश्वकै प्रमुख प्राकृतिक ग्यास उत्पादकमध्येको एक कतारको यो मुख्य केन्द्रमा भएको विष्फोटले विश्वव्यापी ऊर्जा बजारमा थप हलचल र अनिश्चितता पैदा गर्न सक्ने अनुमान गरिएको छ।

विष्फोट भएको बारजान प्लान्टको क्षमता दैनिक करिब १.४ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन गर्ने रहेको छ।  कतारले यो ग्यास मुख्य रूपमा देशको आन्तरिक विद्युत उत्पादन र मरुभूमिको देशमा खानेपानी आपूर्तिका लागि गरिने 'वाटर डिसालिनेशन' (समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्ट) सञ्चालन गर्न प्रयोग गर्दै आएको थियो।

यो प्लान्टमा कतार सरकारको मुख्य स्वामित्व छ भने बहुराष्ट्रिय कम्पनी 'एक्सोनमोबिल' (ExxonMobil) को पनि केही हिस्सादारी छ।

यसअघि गत मार्च महिनामा इरानको एक क्षेप्यास्त्र रास लफान केन्द्रमा प्रहार भएको थियो, जसका कारण त्यहाँ ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका थिए। इरानी आक्रमणकै कारण दोहाले त्यहाँको उत्पादन पहिले नै रोकेको थियो।कतारले फारसको खाडी (Persian Gulf) मा रहेको संसारकै सबैभन्दा ठूलो अपतटीय (Offshore) प्राकृतिक ग्यास क्षेत्र इरानसँग साझेदारी गर्दछ। यही ग्यास उत्पादनकै कारण कतार विश्वको सबैभन्दा धनी राष्ट्रमध्ये एक बन्न सफल भएको हो।

खबरपाटी
खबरपाटी