बुटवल – लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कार्यसूची अनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नेछन् ।
प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् । छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन् ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले‘आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।