इरानले क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलतर्फको हवाई क्षेत्रको केही भाग बन्द

इरानले क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलतर्फको हवाई क्षेत्रको केही भाग बन्द

काठमाडौं । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका पछिल्ला प्रहारहरू केवल ‘चेतावनी’ मात्र भएको जनाएको छ ।

इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म देशको पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् ।

आईआरजीसीले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायलविरुद्ध गरिएका हालका आक्रमणहरू सम्भावित थप सैन्य कारबाहीका लागि प्रारम्भिक चेतावनी भएको जनाएको छ । उसले इजरायलले आफ्ना आक्रमण जारी राखेमा क्षेत्रभर रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक ठेगानाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।

इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले इजरायलले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा आक्रमण रोक्नुपर्ने बताएका छन् ।

उनले भने, “यदि, इजरायलले आफ्नो सैन्य कारबाही विस्तार गर्‍यो वा इरानको कदमको जवाफ फर्कायो भने उसले अझ विनाशकारी र पछुताउनुपर्ने खालका आक्रमणहरूको सामना गर्नुपर्नेछ ।”

‘इरानी क्षेप्यास्त्रहरू बीचमै रोकियो’
यसैबीच, इजरायली सेनाले आइतबार इरानबाट प्रहार गरिएका दुई चरणका क्षेप्यास्त्र आक्रमणहरू सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ ।

सामाजिक सञ्जाल ‘एक्स’मा जारी विज्ञप्तिमा इजरायली सेनाले भनेको छ, “इरानबाट हालसम्म प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई बीचमै रोकिएको छ ।”

सेनाले थप क्षेप्यास्त्र प्रहारको सम्भावना रहेको उल्लेख गर्दै हवाई रक्षा प्रणालीहरू निरन्तर सक्रिय अवस्थामा रहेको जनाएको छ ।

खबरपाटी
खबरपाटी