काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फर्स्यौट गर्न निर्देशन दिएकी छिन्।
सोमवार ललितपुरमा आयोजित छैटौँ राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गरेकी हुन्।
मन्त्री चौधरीले सरकारले हाल व्यवसायीहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कडा कदम चाल्न बाध्य नपार्न सचेत गराइन्। मन्त्री चौधरीले निजी क्षेत्रले जति धेरै सहजीकरण गर्छ, सरकारले पनि व्यवसायीका समस्या समाधानमा उति नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। व्यवसायीका विद्यमान समस्याहरू समाधानका लागि सरकारले विभिन्न प्रयासहरू गरिरहेको उनको भनाइ छ।
मन्त्रालयले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल र कार्यक्रमहरू अगाडि बढाइरहेको जानकारी दिँदै मन्त्री चौधरीले यस क्षेत्रको सुधारका लागि सरकार दृढ रहेको स्पष्ट पारिन्।