अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको 'पोस्ट बजेट' छलफल कार्यक्रममा बोल्दै उनले भने,'विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौं ।'
आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले विजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए । 'विगतमा कुरा भएपनि कसैले आँट गर्न नसकेको अवस्था थिएन,' उनले भने ।
उनले यदी सबै निशुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुयलाको हालत हुने भन्दै सरकारले उपभोगमा आधारित करमा गइएको सुनाए । उनले भने,'आयमा आधारित कर भन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढाइएको हो ।'
बजेटले ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । उनले भने,' गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं ।’
र्थमन्त्री स्वणिम वाग्लेले ५० लाखसम्मका गाडीमा मुल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा विलाशिता गाडीमा मात्रै कर बढेको बताएका हुन्।
उने केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिएपनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए।
‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’
उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए। उनले किलोवाटको सट्टा मुल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरु समेत राहात महशुस गरेको बताए।
उनले विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए।