हार्वर्डमा करभिका थापाको सम्बोधन: एआई, स्टार्टअप र नेपालको आर्थिक रूपान्तरणबारे प्रस्तुति

हार्वर्डमा करभिका थापाको सम्बोधन: एआई, स्टार्टअप र नेपालको आर्थिक रूपान्तरणबारे प्रस्तुति

काठमाडौं — नेपालकी प्रख्यात व्यवसायी तथा प्रविधि उद्यमी करभिका थापा हार्वर्ड विश्वविद्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘नेपाल डिस्कोर्स’मा वक्ताको रूपमा सहभागी हुने भएकी छन्। उक्त सम्मेलन आगामी अप्रिलमा हार्वर्ड विश्वविद्यालयमा हुने तय भएको छ।

हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) का नेपाली विद्यार्थी संगठनहरूको आयोजनामा, लिडरशिप एकेडेमी नेपाल र कान्तिपुर मिडिया ग्रुपको सहयोगमा हुने यस सम्मेलनलाई नेपाली विद्यार्थीहरूले नेतृत्व गरेको महत्वपूर्ण वैश्विक कार्यक्रमका रूपमा लिइएको छ। ‘नेपाल डिस्कोर्स’ले नेपालका प्रमुख संरचनागत चुनौती र सम्भावनाबारे बहस गर्दै कृत्रिम बुद्धिमत्ता (AI), भविष्यको काम, नयाँ पुस्ताको नेतृत्व, संस्थागत सुदृढीकरण र डायस्पोरा संलग्नताजस्ता विषयमा केन्द्रित रहनेछ।

करभिका थापा ‘From BPO to IPO – Leveraging AI for Startup Acceleration and Economic Leapfrogging’ शीर्षकको प्यानलमा सहभागी हुनेछन्। यस सत्रमा नेपालमा नवप्रवर्तनशील स्टार्टअपहरू निर्माण र विस्तारका चुनौती तथा अवसरहरू, विशेष गरी परम्परागत BPO मोडेलबाट प्रविधि–आधारित उच्च विकासशील उद्यमतर्फको रूपान्तरणबारे छलफल हुनेछ। साथै, एआई र उदाउँदा प्रविधिहरूले स्टार्टअप इकोसिस्टमलाई कसरी तीव्र बनाउन सक्छन् र समग्र आर्थिक रूपान्तरणमा कस्तो योगदान दिन सक्छन् भन्ने विषयमा पनि विचार आदानप्रदान हुनेछ।

उक्त प्यानलको सञ्चालन रुमी सिंहले गर्नेछन् भने प्रसन्न ढुंगेलसहित विभिन्न राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। छलफलमा सञ्चालन मोडेल, नीतिगत र पूँजीगत चुनौती, इकोसिस्टमका पक्षहरू तथा नवप्रवर्तनमार्फत समाधानका उपायहरूबारे केन्द्रित रहनेछ।

कार्यक्रमअघि प्रतिक्रिया दिँदै थापाले हार्वर्डजस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताएकी छन्। उनले एआई र उदाउँदा प्रविधिको प्रयोगमार्फत स्टार्टअपहरूलाई सशक्त बनाउँदै नयाँ आर्थिक अवसर सिर्जना गर्न र नेपाललाई विश्व डिजिटल अर्थतन्त्रमा स्थापित गर्न सकिने धारणा व्यक्त गरिन्।

थापाको सहभागिताले नेपालको प्रविधि इकोसिस्टम सुदृढीकरण, नवप्रवर्तन प्रवर्द्धन र नयाँ पुस्ताका उद्यमहरूको विकासमा उनको निरन्तर नेतृत्वलाई झल्काउने विश्वास गरिएको छ।
करभिका थापा नेपालकी चर्चित व्यवसायी तथा प्रविधि उद्यमी हुन्। उनी सिमजुङकी अध्यक्ष तथा किम्बु टेककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) हुन्। साथै, उनी VS इन्टरनेसनल कलेजकी कार्यकारी निर्देशक र CNI आईटी काउन्सिलकी सह-अध्यक्षका रूपमा पनि सक्रिय छन्।

उनले ‘Women in Tech’ नामक वैश्विक फेसबुक समुदाय स्थापना गरी हजारौँ महिलालाई प्रविधि क्षेत्रमा मार्गदर्शन र सशक्तिकरण गर्दै आएकी छन्। नेपालमा स्टार्टअप इकोसिस्टम मजबुत बनाउन CNIYEF Startup Fest जस्ता पहलहरूमा उनको महत्वपूर्ण भूमिका रहेको छ। काठमाडौं बाहिरका प्रदेश—कोशी र लुम्बिनी—मा समेत उद्यमशीलता विकासमा उनले सक्रिय योगदान दिँदै आएकी छन्।

अमेरिकामा अध्ययन र विभिन्न क्षेत्रमा कामको अनुभव हासिल गरेपछि उनी नेपाल फर्किएर नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने, महिलालाई प्रविधिमा नेतृत्व गर्न प्रेरित गर्ने र नेपाललाई विश्व डिजिटल अर्थतन्त्रमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेकी छन्।

खबरपाटी
खबरपाटी