काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गर्नुभएको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताउनुभएको हो। महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उहाँको भनाइ छ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस अभियानलाई हिंसामुक्त, विभेदरहित, न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले प्रचलित कानुनको प्रभावकारी कार्यान्वयनमार्फत हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ।
मन्त्री बादीले डिजिटल तथा साइबर हिंसा, बालबालिकामाथिको हिंसा र सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी तथा आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आह्वान गर्नुभएको छ। कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा पीडकले कानुनी उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उहाँले दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय, संरक्षण तथा सम्मान सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
'महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो,' मन्त्री बादीले भन्नुभएको छ, 'पीडित न्यायको खोजीमा राज्यका निकायमा पुग्दा उनीहरूप्रति संवेदनशीलता, जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्नुपर्छ।' उहाँले पीडितको पीडालाई आफ्नै परिवारको सदस्यले भोग्नुपरेको अवस्थासरह संवेदनशील भएर सहयोग, उद्धार र न्यायका लागि काम गर्न सबैलाई आग्रह गर्नुभएको छ।
'तपाईंकी छोरी हाम्रो पनि छोरी हुन्, तपाईंकी बुहारी हाम्री पनि चेली हुन्,' उहाँले सन्देशमा भन्नुभएको छ, 'हाम्रा छोरीचेली र बालबालिकाले हिंसाको डरबिना सुरक्षित र सम्मानित जीवन बाँच्न पाउनुपर्छ।' मन्त्री बादीले सरकारी तथा निजी क्षेत्रका कर्मचारी, आमाबुवा, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंस्था तथा सम्पूर्ण नागरिकलाई लैङ्गिक हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन र खुलेर बोल्नसमेत आग्रह गर्नुभएको छ।
यस अभियानमा अहिलेसम्म साथ, सहयोग र योगदान पुर्याउने सम्पूर्ण संघसंस्था, राजनीतिक दल, प्रतिनिधि तथा सरोकारवाला निकायलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गर्नुभएको छ। हिंसा गर्ने सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै पीडितले न्याय पाउने व्यवस्था सुनिश्चित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले हिंसामुक्त नेपालको निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्न आह्वान गर्नुभएको छ।