काठमाडौँ – बीमाको दोहोरोपना र सहज सेवाका लागि भन्दै लागि स्वास्थ्य बीमा बोर्ड राष्ट्रिय परिचय पत्रसँग जोडिएको छ।
यसका लागि हालै मात्र स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरे।
बीमालाई विश्वसनिय,गुणस्तरिय र प्रविधिमैत्री बनाउन का साथै बिमाको सुविधाको दोहोरोपनालाई कम गर्न बीमालाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरिएको बोर्डले जनाएको छ।
यसका लागि राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग सम्झौता गरेको हो।
निर्देशक डा. पौडेलले बीमामा देखिएको दोहोरोपनाको समस्या हटाउन, वास्तविक व्यक्तिको एकिन गर्न तथा बीमा सुविधा सहज बनोस् भनेर परिचयपत्रसँग जोडिएको बताए।
उनले सरकारी सेवाहरूलाई एकीकृत गर्ने लक्ष्य अनुरूप चालिएको यो कदमले स्वास्थ्य बीमाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दाबी गरे।बीमा बोर्डले यसअघि नै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारी गरिरहेको थियो। तर बीचमा सो कार्यक्रम रोकिएको थियो।
सम्झौता अनुसार अब स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ। यो सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको हो।
यो नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झञ्झट हट्नेछ। परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन्। यसले तथ्यांक एकीकरणमा सघाउ पुर्याउनुका साथै एकै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्णरूपमा नियन्त्रण गर्नेछ।