काठमाण्डौ – वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् ।
एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २९८ रन बनाउनुका साथै २४ विकेट लिएका छन् ।
सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन् । एलेनले सन् २०१८ मा भारत भ्रमणका क्रममा वेस्ट इन्डिजको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।
उनले वेस्ट इन्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा खेलेका छन् । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताएका छन् । तेस्रो संस्करणको एनपीएल भोलिदेखि शुरु हुँदैछ ।