काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार आज भने दबाबमा देखिएको हो ।
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले ओरालो लागेको छ ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । आज ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा १ करोड ९६ लाख १६ हजार कित्ता सेयर किनबेच भएको हो ।
कारोबारका क्रममा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर सकारात्मक सर्किटमा कारोबार भएको हो ।
यसैगरी, अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । विपरीत, खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब ५२ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ ।
उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । वित्त, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ । जलविद्युत उपसमूह भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ ।
समग्रमा साताको पहिलो दिन बजारमा गिरावटसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ, जसले लगानीकर्तामा केही सतर्कता बढेको संकेत गरेको छ ।