सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक छ : अर्थमन्त्री रामेश्वर खनाल

सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक छ : अर्थमन्त्री रामेश्वर खनाल

काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएका छन्।

मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताएका हुन्। खनालका अनुसार सूचनाको हकसम्बन्धी कानूनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेका छन्।

व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा  प्रतिस्पर्धा प्रभावित भइरहेको उनले बताए। पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताए। खनालका अनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ।

अर्थमन्त्री खनालले भने‚ ‘अर्थतन्त्र सही तरिकाले चल्नका निम्ति सही सूचना प्रवाह आवश्यक हुन्छ। सबै लगानीकर्ताले समान तवरले समान निर्णय गर्न सूचना त्यही समयमा पाउन सकेका छैनन्। त्यही सूचना पनि १० दिनपछि पायो र रियल टाइममा पायो भने त्यही अवसर र लाभमा ठूलो फरक आउँछ।’

खनालले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताए। नागरिकसम्म सही सूचना पुर्‍याउने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उनको भनाइ छ। 

खबरपाटी
खबरपाटी