सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पूर्ण रूपमा हटाइएमा तेहरानले आफ्नो ६० प्रतिशत संवर्द्धित युरेनियमलाई घटाउने

सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पूर्ण रूपमा हटाइएमा तेहरानले आफ्नो ६० प्रतिशत संवर्द्धित युरेनियमलाई घटाउने

काठमाडौँ ।  इरानको सरकारी समाचार एजेन्सी ‘इरना’ का अनुसार इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पूर्ण रूपमा हटाइएमा तेहरानले आफ्नो ६० प्रतिशत संवर्द्धित युरेनियमलाई घटाउने विषयमा विचार गर्न सक्ने बताएका छन्। ओमानमा भएको अप्रत्यक्ष वार्ताका क्रममा अमेरिकाले युरेनियम संवर्द्धन घटाउन अनुरोध गरेको थियो कि भन्ने प्रश्नको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। 

इस्लामीले संवर्द्धित युरेनियम विदेश पठाउने तेहरानको कहिल्यै योजना नरहेकोमा जोड दिँदै यस्ता प्रस्तावहरू विवाद समाधानमा सहयोग गर्न चाहने अन्य पक्षहरूले मात्र राखेको उल्लेख गरे। रुस र टर्किए जस्ता देशहरूले इरानको उच्च संवर्द्धित युरेनियम भण्डारण गर्ने प्रस्ताव गरे पनि तेहरानले त्यसलाई अस्वीकार गरेको उनले स्पष्ट पारे।

यसैक्रममा इस्लामीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई गत जुनमा इजरायल र अमेरिकाले इरानका आणविक केन्द्रहरूमा गरेको आक्रमणको निन्दा गर्न समेत आग्रह गरे। उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा अन्तर्राष्ट्रिय कानुन र सुरक्षा सम्झौता अन्तर्गत सञ्चालित रहेको दाबी गरे। 

तेहरान र वासिङ्टनबीच बढ्दो तनावका बीच ओमानमा भएको वार्ताको नेतृत्व इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विट्कोफले गरेका थिए। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले पनि यी वार्ताहरूलाई आणविक मुद्दा न्यायोचित रूपमा समाधान गर्ने अत्यन्त राम्रो अवसरको रूपमा वर्णन गरेका छन्।

इरानको मुख्य उद्देश्य आणविक अप्रसार सन्धि अन्तर्गत आफ्ना अधिकारहरूको रक्षा गर्ने, स्वदेशमै युरेनियम संवर्द्धन कायम राख्ने र आफूमाथि लागेका क्रूर प्रतिबन्धहरू हटाउने रहेको राष्ट्रपति पेजेस्कियानले बताए। विदेशमन्त्री अराघचीले राष्ट्रपतिको भनाइलाई समर्थन गर्दै ठोस नतिजा खोज्न इरान गम्भीर रहेकोमा जोड दिए। 

उनले कूटनीति नै आणविक मुद्दा समाधान गर्ने एक मात्र मार्ग भएको र तेहरानले सम्मानको जवाफ सम्मानले दिने तर दबाबलाई स्वीकार नगर्ने स्पष्ट पारे। पश्चिमी देशहरूले इरानको ६० प्रतिशत संवर्द्धित युरेनियमलाई हतियार बनाउन प्रयोग हुन सक्ने भन्दै चेतावनी दिँदै आए पनि इरानले भने आणविक हतियार बनाउने आफ्नो कुनै मनशाय नरहेको खण्डन गर्दै आएको छ।

खबरपाटी
खबरपाटी