इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि

इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी एफ–३५सी लडाकु विमानले इरानी ‘शाहेद–१३९’ ड्रोन खसालेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले मंगलबार जनाएअनुसार अरब सागरमा तैनाथ अमेरिकी विमानवाहक जहाज ‘यूएसएस अब्राहम लिंकन’तर्फ बढिरहेको एउटा इरानी ड्रोनलाई अमेरिकी नौसेनाको लडाकु विमानले खसालिदिएको हो । 

ट्रम्प प्रशासनले इरानलाई वार्ताको टेबुलमा ल्याउन सैन्य बल प्रयोग गर्न सक्ने चेतावनी दिइरहेका बेला भएको यस घटनाले दुई देशबीचको तनावलाई थप बढाएको समाचार संस्था एपीले जनाएको छ ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विज्ञप्ति जारी गर्दै उक्त ड्रोन आक्रामक रूपमा विमानवाहक जहाजनजिक आएको बताए । अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालित अमेरिकी बलहरूले तनाव कम गर्ने प्रयास गरिरहेकै बेला उक्त ड्रोन निरन्तर जहाजतर्फ उडिरहेकाले त्यसलाई खसाल्नु परेको उनले स्पष्ट पारेका छन् ।

अमेरिकी सेनाका अनुसार यो घटना इरानी बलहरूले स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको अमेरिकी झण्डावाहक तथा अमेरिकी चालक दल रहेको एक व्यापारिक जहाजलाई अवरोध गरेको केही घण्टाभित्रै भएको हो ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अर्को विज्ञप्तिमा अमेरिकी सेनाले तनाव कम गर्ने प्रयास गर्दागर्दै पनि उक्त इरानी ड्रोन निरन्तर जहाजतर्फ नै उडिरहेको जानकारी दिएका छन् ।

अमेरिकी विमानवाहक जहाज र यसको ‘स्ट्राइक ग्रुप’ गत हप्ता मात्रै सेन्ट्रकमको कार्यक्षेत्रमा आइपुगेका थिए । सेन्ट्रल कमान्डका अनुसार यस घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते भएका छैनन् । कुनै पनि सैन्य उपकरणमा क्षति पुगेको छैन ।

इरानका छिमेकी देशहरूले इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानी अधिकारीहरूबीच बैठक गराउन पहल गरिरहेको समयमा यो घटना भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार इस्तानबुलमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट्ने तालिका थियो । 

यसअघि राष्ट्रपति ट्रम्पले कुनै सम्झौता हुन नसके नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । हाल पेन्टागनले इराननजिकै दर्जनौँ युद्धपोत, लडाकु विमान र कार्गो विमानसहित ठूलो सैन्य उपस्थिति तैनाथ गरेको छ ।

ड्रोन खसालिए पनि अमेरिका–इरान वार्ता ‘यथावत’ : ह्वाइट हाउस
यसैबीच, अरब सागरमा अमेरिकी विमानवाहक जहाजनजिक आएको इरानी ड्रोनलाई अमेरिकी लडाकु विमानले खसाले पनि अमेरिकाले यसै हप्ता इरानी अधिकारीहरूसँग हुने भनिएको वार्तालाई निरन्तरता दिने ह्वाइट हाउसले मंगलबार जनाएको समाचार संस्था एफपीले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सञ्चारकर्मीहरूसँग भनिन्, “मैले भर्खरै विशेष दूत स्टिभ विटकफसँग कुरा गरेको छु । अहिलेसम्मको जानकारीअनुसार यो वार्ताको तालिका यथावत छ ।”

उनले उक्त वार्ता यसै हप्ताको अन्त्यतिर हुने तय भएको जानकारी दिइन् ।

प्रेस सचिव लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्प सधैँ कूटनीतिलाई प्राथमिकता दिन चाहनुहुन्छ । तर, ताली बजाउन दुवै हात चाहिन्छ ।” 

ट्रम्पद्वारा विश्वव्यापी द्वन्द्व मध्यस्थकर्ताका रूपमा नियुक्त व्यवसायी विटकफ र इरानी अधिकारीहरूबीचको यो भेटवार्ता सम्भवतः टर्कीमा हुने यस विषयसँग सम्बन्धित स्रोतले एएफपीलाई बताएको छ ।

ट्रम्पकी प्रवक्ताले थप स्पष्ट पार्दै अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध सैन्य कारबाहीको विकल्पलाई पनि खुला राखेको र हाल यस क्षेत्रमा ठूलो संख्यामा अमेरिकी युद्धपोतहरू तैनाथ रहेको बताइन् ।

फक्स न्यूजसँगको छुट्टै अन्तर्वार्तामा लेभिटले भनिन्, “राष्ट्रपतिसँग सैन्य बलको प्रयोगसहित विभिन्न विकल्पहरू टेबलमा छन् ।”

गत वर्ष इरानको आणविक कार्यक्रममाथि भएको अमेरिकी सैन्य हमलालाई संकेत गर्दै यो कुरा इरानीहरूलाई अरूलाई भन्दा राम्ररी थाहा भएको बताइन् । एपी/एएफपीबाट । 

 

खबरपाटी
खबरपाटी