कांग्रेस सभापति गगन थापाले कहिले नियुक्त गर्छन् मुख्यसचिव ?

कांग्रेस सभापति गगन थापाले कहिले नियुक्त गर्छन् मुख्यसचिव ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते पदबाट राजीनामा दिएका थिए । 

राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले निर्वाचन क्षेत्रमा काम गर्नका लागि आफूले बिहीबार पदबाट राजीनामा दिएको बताएका थिए ।

पौडेलले राजीनामा दिएको ८ दिन बित्दासमेत सभापति गगन थापाले नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन् ।

कांग्रेसमा मातहतका निकायमा पत्राचार, बैठकका निर्णय सार्वजनिक गर्दा र सरकारी कार्यालयमा पत्राचार गर्दा मुख्यसचिवले हस्ताक्षर गर्छन् । 

तर, विज्ञप्ति र पत्राचारमा प्रवक्ता देवराज चालिसेले हस्ताक्षर गर्दै आएका छन् ।

प्रवक्ता चालिसेले सभापति थापा प्रचार–प्रचार प्रसारका क्रममा मधेसमा रहेकाले कुनै छलफल नभएको र मुख्यसचिव नियुक्तिको विषय सभापतिको अधिकार क्षेत्रभित्र पर्ने बताए ।

‘मुख्यसचिवको नियुक्ति सभापतिले गर्ने काम हो । उहाँ प्रचार–प्रसारमा हुनुहुन्छ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘उहाँ भोलितिर आउनुहुन्छ, त्यसपछि छलफल भएर निर्णय होला।’

कांग्रेसको पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सभापतिमा थापा चयन भएका थिए । पौडेल त्यो विशेष महाधिवेशनको विपक्षमा थिए ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि थापा सभापतिको रूपमा केन्द्रीय कार्यालयमा पदबहाली गर्न आउने निश्चित भएपछि पौडेलले पदबाट राजीनामा दिएका थिए ।

मुख्यसचिवका लागि पार्टी केन्द्रीय कार्यालयमा सचिवमा कार्यरत कृष्ण दुलालले आकांक्षा देखाएका छन् । उनी पार्टी केन्द्रीय कार्यालयका कर्मचारीहरू विशेष महाधिवेशनको पक्षमा नखुल्दा पनि खुलेर लागेका थिए ।

तथापि थापाले उनलाई नियुक्त गर्ने कि बाहिरबाट राजनीतिक व्यक्तिलाई ल्याउने भन्ने निर्णय गरिसकेका छैनन् । ‘भित्रैका कर्मचारीको बढुवा गर्ने कि बाहिरबाट ल्याउने भन्ने निर्णयमा सभापतिज्यू पुगिसक्नुभएको छैन,’ सभापति थापा निकट एक नेताले भने ।

पदबाट राजीनामा दिएका पौडेललाई देउवाले १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि मुख्यसचिव नियुक्त गरेका थिए । देउवा १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिएपछि पनि पौडेललाई नै निरन्तरता दिएका थिए । 

खबरपाटी
खबरपाटी