काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार वासिंगटन डीसीमा सिनेट कमिटीसमक्ष भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलास मादुरोको गिरफ्तारीलाई जायज भनेका छन् । उनले भेनेजुएलाका राष्ट्रपतिको गिरफ्तारी कुनै पनि प्रकारको युद्धको कार्य नभएर रणनीतिक कारबाही भएको बताए ।
सिनेटमा सुनुवाइका क्रममा रुबियोले जनवरी ३ मा मादुरोको गिरफ्तारीको पछाडि वासिंगटनको तर्क राखे । सुनुवाइको सुरुमा रुबियोले अन्तर्राष्ट्रिय कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्रश्नहरूलाई अस्वीकार गरे ।
अमेरिकी सिनेटर रुबियोले भेनेजुएलाको स्थिति अस्थिर रहेकाले त्सलाई बचाउन आवश्यक भएको बताए । उनले भेनेजुएलाप्रति अमेरिकाका तीन उद्देश्य संक्रमणलाई समाप्त पारेर लोकतान्त्रिक भेनेजुएला बनाउने रहेको स्पष्ट पारे ।
सुनुवाइका क्रममा रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको बचाउ गरे । मादुरो सरकारका अधिकारीहरूसँग वार्ता जारी राख्ने विकल्प छानिएको थियो । उनले अमेरिकाले तुरुन्तै विपक्षलाई सत्ता हस्तान्तरण गर्ने समर्थनको सट्टा संवादलाई प्राथमिकता दिएको बताए ।
रुबियोका अनुसार पहिलो प्राथमिकता भेनेजुएलामा गृहयुद्ध रोक्नु थियो । यसका लागि हाल देश नियन्त्रण गर्ने व्यक्तिहरूसँग सिधा, इमानदार र सम्मानजनक वार्ताको प्रयास गरिएको उनको भनाइ छ ।
उनले दोस्रो ठूलो उद्देश्य देशलाई फेरि सम्हाल्नु रहेको बताए । यसअन्तर्गत भेनेजुएलाको तेल उद्योगलाई पुनः सञ्चालन र मजबुत बनाउनु हो । यसको उद्देश्य देशको अर्थतन्त्र स्थिर बनाउनु हो ।
अपरेसनको खर्चमाथि सिनेटरको प्रश्न
सुनुवाइका क्रममा डेमोक्रेटिक सिनेटर जीन शाहिनले अपरेसनको खर्चमाथि प्रश्न उठाइन् । उनले सैन्य कारबाही र समुद्री नाकाबन्दीमा लगभग एक अर्ब डलर खर्च हुनसक्ने बताइन् ।
शाहिनले उनका मतदाताहरूले राष्ट्रपति महँगी र दैनिक समस्याहरूको सट्टा भेनेजुएलामा ध्यान किन दिइरहेछन् भनेर सोधिरहेको बताइन् । रिपब्लिकन सिनेटर र्यान्ड पलले यो अपरेसन युद्धजस्तो हो वा होइन भनेर प्रश्न सोधेका थिए ।
यसमा रुबियोले अमेरिकाले यसलाई युद्ध नमान्ने बताए । उनले मादुरोको विवादित २०२४ को निर्वाचन र ड्रग तस्करीका आरोपहरूको पनि उल्लेख गरे । तर, र्यान्ड पलले यी तर्कहरूलाई खोक्रो भन्दै अस्वीकार गरे ।
रुबियोले अर्को ठूलो सैन्य कदमको सम्भावना कम भएको बताए । उनले अमेरिका सैन्य कारबाहीका लागि तयार नरहेको र यसको अपेक्षा पनि नरहेको प्रष्ट पारे । यद्यपि, आवश्यक परेमा आफ्ना हितहरूको रक्षा गर्न पछि नपर्ने उनको भनाइ छ ।
भेनेजुएलाको तेलसम्बन्धी सम्झौताको जानकारी
रुबियोले गरिएका सम्झौताअन्तर्गत स्वीकृत तेलमात्र बजारमा बेच्ने अनुमति हुने बताए । यस बिक्रीबाट प्राप्त पैसा एउटा विशेष खातामा जम्मा हुनेछ जसमा अमेरिकाले नजर राख्नेछ ।
उनले यसलाई अस्थायी व्यवस्था भने पनि यो पैसाको प्रयोग भेनेजुएलाका जनताका लागि गरिने बताए । पछि यो व्यवस्थालाई सामान्य व्यापार प्रणालीमा रूपान्तरित गरिने उनले प्रष्ट पारे ।
जनवरी २ मा मादुरो पक्राउ
अमेरिकी सैनिकले जनवरी २ को राति भेनेजुएलामा आक्रमण गरी मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको थियो । त्यसपछि उनीहरूलाई न्युयोर्क ल्याइएको छ, जहाँ डिटेन्सन सेन्टरमा राखिएको छ । उनीहरूमाथि हतियार–ड्रग्ससम्बन्धी मुद्दामा कारबाही चलाइएको छ । मादुरोले ड्रग तस्करीसँग कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । उनीहरूको मुद्दाको सुनुवाइ सुरु हुन अझै धेरै महिना लाग्न सक्छ । बीबीसी