काठमाडौँ, नेपाल — नेपालको पूँजीबजारको पुन: संरचनाबारे वर्षौंदेखि उठ्दै आएको प्रश्न फेरि बलियो रूपमा सतहमा आएको छ। सेयर विश्लेषक टप स्टक ट्रेडरले धितोपत्र बोर्ड (SEBON), सिडिएस तथा क्लियरिङ लिमिटेड (CDSC) र नेपाल स्टक एक्सचेञ्ज (NEPSE) लाई एउटै संस्थागत संरचनामा एकीकृत गर्नुपर्ने माग सार्वजनिक रूपमा अघि सारेका छन्।
उनका अनुसार तीनवटा छुट्टाछुट्टै संरचना र नेतृत्व भएको प्रणालीले कार्यगत ढिलाइ, अनावश्यक कागजी प्रक्रिया तथा नीतिगत असमानता सिर्जना गर्दै पूँजीबजारको समग्र गति कमजोर बनाइरहेको छ। “अहिले सबै काम अनलाइन हुँदैछ। यस्तो अवस्थामा तीनवटा निकायलाई एउटै छातामुनि एकीकृत गरेर तीन महाशाखाका रूपमा पुनःसंरचना गर्नुपर्छ,” उनले भने।
हाल नेपालमा तीन प्रमुख निकायले छुट्टाछुट्टै भूमिका निर्वाह गरिरहेका छन्—SEBON ले नियमन तथा निरीक्षणको कार्य गर्छ, NEPSE ले शेयर कारोबार सञ्चालन गर्छ, र CDSC ले शेयर धितोपत्र अभिलेख, क्लियरिङ तथा सेटलमेन्टको जिम्मेवारी सम्हाल्छ। डिजिटल डेमाट, अनलाइन कारोबार, र पेपरलेस सेटलमेन्ट प्रणाली लागू भए पनि लगानीकर्तालाई एउटै प्रकृतिका कामका लागि विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता अझै कायम छ।
बजारका विज्ञहरूका अनुसार अब अधिकांश सेवा डिजिटल भइसकेकाले यस्ता छुट्टाछुट्टै निकायहरूको आवश्यकता पुनर्विचार गर्नुपर्ने समय आएको छ। “यदि नीतिगत निर्णयदेखि कारोबार सेटलमेन्टसम्म सबै प्रक्रिया एकीकृत डिजिटल प्रणालीमार्फत एउटै संस्थाबाट सञ्चालित भए कमिसन लागत घट्ने मात्र होइन, निर्णयहरू छिटो हुने र लगानीकर्ताको अनुभव सहज बन्ने थियो,” टप स्टक ट्रेडरले बताए।
लगानीकर्ताहरूले पनि नियमन, कारोबार र क्लियरिङ निकायबीचको ‘समन्वय अभाव’ लामो समयदेखि गुनासो गर्दै आएका छन्। कहिले SEBON बाट स्वीकृति ढिलो हुने, कहिले NEPSE ले प्रणाली सुधारमा विलम्ब गर्ने, कहिले CDSC तर्फबाट प्राविधिक समस्या देखिने—तीन निकायबीच ‘कतै कस्ले मानेन, कतै कस्ले गरेन’ भन्ने अवस्थाको कारण पूँजीबजारमा नीतिगत अस्पष्टता देखिएको उनीहरूको धारणा छ।
टप स्टक ट्रेडरका अनुसार, यदि तीनवटै निकाय एउटै छातामुनि ल्याएर एउटै निर्देशक वा परिषद्को नेतृत्वमा तीन महाशाखाका रूपमा पुनःसंरचना गरियो भने ‘१० गुणा छिटो’ सेवा प्रदान गर्न सकिनेछ। यसले नीतिगत स्पष्टता, एकीकृत डिजिटल प्लेटफर्म, समय बचत, र लगानीकर्ताको भरोसा अभूतपूर्व रूपमा अभिवृद्धि हुने उनले बताए।
नेपाल हाल डिजिटल वित्तीय प्रविधि, इन्टरनेट–आधारित कारोबार तथा पेपरलेस सेटलमेन्ट प्रणालीलाई प्राथमिकता दिइरहेको छ। यस्तो समयमा पूँजीबजारका तीन प्रमुख निकायहरूको एकीकरणसम्बन्धी बहस फेरि बलियो रूपमा अघि आएको छ। विश्लेषकहरूको भनाइमा सरकार र नियामक निकायले यस विषयमा गम्भीर छलफल गरे मात्र पूँजीबजारको दिगो विकास तथा लगानी–मैत्री वातावरण निर्माण सम्भव छ।