बालेन : आवाज, विरोध र प्रश्नको प्रतीक

बालेन : आवाज, विरोध र प्रश्नको प्रतीक

गत रात काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्ना सामाजिक सञ्जालमार्फत २–३ वटा देश र नेपाली राजनीतिक दलहरूलाई लक्षित गर्दै स्टाटस लेखे। केहीले उनलाई तारिफ गरे, धेरैले आलोचना। तर सत्य के हो भने बालेनले फेरि पनि सबैको ध्यान आकर्षित गरे।

बालेनलाई बुझ्न सजिलो छैन। उनी राजनीतिज्ञ हुन्, तर परम्परागत राजनीतिज्ञ होइनन। उनी कवि हुन्, अभियन्ता हुन्, अनि आजका युवाहरूको प्रतिनिधि भावना पनि हुन। उनी आफ्नो आवाज मञ्चबाट होइन, मोबाइलको स्क्रिनबाट व्यक्त गर्छन। र यही डिजिटल युगको वास्तविक शक्ति हो, शब्द जसले व्यवस्था हल्लाउन सक्छ।
विशेष कुरा के छ भने, मेयर बालेन शाहले त्यो स्टाटसमा बाहिरी मुलुक र नेपाली राजनीतिक दललाई अंग्रेजीमा अपशब्द लेखेर पोष्ट गरे, र केही समयपछि डिलिट गरे। तर छोटो समयमै सामाजिक सञ्जाल फेसबुकमा रहेको स्टाटसले सबैको ध्यान तान्यो।

कसैले उनी असभ्य भन्छन्, कसैले साहसी। तर स्पष्ट छ उनी मौन रहन तयार छैनन्।
तर प्रश्न उठ्छ :
के मेयरको भूमिका केवल स्टाटस लेखेर पूरा हुन्छ ?
के भावनात्मक अभिव्यक्तिले समाधान ल्याउँछ ?
र के हरेक स्टाटसले नेतृत्वको गरिमा बढाउँछ वा घटाउँछ ?

यी प्रश्नहरू विवादका होइनन्, चिन्तनका हुन् । किनभने बालेनले हाम्रो देशमा एक नयाँ परिभाषा ल्याएका छन । “राजनीति पनि कलाको रूपमा प्रस्तुत गर्न सकिन्छ।” उनका हरेक वाक्यमा शब्दभन्दा बढी भावना हुन्छ, असहमति भन्दा पनि प्रश्न हुन्छ र कहिलेकाहीँ त्यो प्रश्न असहज लाग्छ, किनभने त्यो साँचो हुन्छ। हुन त बालेनले बोल्ने शैली सबैलाई मन पर्छ भन्ने छैन। कसैका लागि उनी विद्रोही हुन्, कसैका लागि असभ्य, तर अरूका लागि उनी आशा हुन
जो भन्छन्, “अब पनि एउटा फरक बाटो सम्भव छ।”

म व्यक्तिगत रूपमा बालेनलाई केवल मेयरको रूपमा होइन,
एक परिवर्तनको संकेतका रूपमा हेर्छु। उनी परिपूर्ण छैनन्   । तर उनी मौन पनि छैनन् । र कहिलेकाहीँ समाजमा मौनताभन्दा ठूलो अपराध अरू केही हुँदैन। उनका स्टाटसहरूले हल्ला ल्याउँछन्, तर त्यही हल्लाले सोच्न बाध्य पार्छ। के हामीले राजनीतिलाई यति कृत्रिम बनाइसकेका छौं कि सीधो बोलेको मान्छे असहज लाग्न थाल्यो ? के हामी अभ्यस्त भइसक्यौं “राजनीतिक भाषण” सुन्न, र “सिधा सत्य” सहन नसक्ने ?

साँचो कुरा के हो भने,मेरो बुझाईमा 
बालेन शाह एउटा व्यक्ति होइनन,उनी एउटा भाव हुन्, एउटा चेतना हुन्। उनी त्यो आवाज हुन्, जसले पुरानो राजनीतिलाई “फिल्टरबिनाको सत्य” देखाउँछ। र सायद यही कारण, हरेक स्टाटसले देशमा हलचल ल्याउँछ।

एउटा कुरा बुझ्न जरुरी छ  नेतृत्व शब्द होइन, कार्य हो। स्टाटसले ध्यान त तान्छ, तर परिवर्तन भने कामले मात्र ल्याउँछ। आवाजले ढोका खोल्छ, तर हिँड्न चाहिँ कदम नै चलाउनुपर्छ। मलाई बालेनप्रति सम्मान छ, किनभने उनी डराउँदैनन्। तर साथसाथै आशा पनि छ,कि उनका शब्दहरू अब कर्ममा रूपान्तरण होऊन् । किनभने देशलाई अब कुरा होइन, काम गर्ने साहस चाहिएको छ।

बालेन बोल्छन्,
किनभने हामी धेरै समयदेखि मौन छौं।

खबरपाटी
खबरपाटी