भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात अर्नबको जोखिम, हजारौँलाई सुरक्षित स्थानमा सारियो

भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात अर्नबको जोखिम, हजारौँलाई सुरक्षित स्थानमा सारियो

भारतको आन्ध्र प्रदेशमा आज शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेका छन् ।

चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने भारत मौसम विज्ञान विभाग (आइएमडी)लाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

विभागले हिजो जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रका मानिसहरूलाई सुरक्षित ठाउँमा जान निर्देशन दिएका छन् । केही जिल्लामा हिजोदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिनुभएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

द इन्डियन एक्सप्रेसका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने चार हजार सात सयभन्दा बढीलाई अस्पतालमा सारिएको छ । भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरू पूर्ण रूपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउन सक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्न सक्ने चेतावनी दिएको छ ।

आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पुर्‍याउन सक्ने विभागको अनुमान छ । बङ्गालको खाडी र उत्तरी हिन्द महासागरमा चक्रवात नियमित जोखिमका रूपमा रहँदै आएका छन् । यसैबीच, श्रीलङ्कामा पनि मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ ।

त्यहाँको मौसम विज्ञान विभागले आँधीका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने जोखिम औँल्याउँदै विद्यालयहरू बन्द गरेको छ । कोलम्बोको विपद् व्यवस्थापन केन्द्रका अनुसार सेनालाई पनि सतर्क अवस्थामा राखिएको छ ।
 

 

 

खबरपाटी
खबरपाटी