
जापानको राजधानी शहर टोकियोमा महँगी बढेको छ । आन्तरिक मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मूल उपभोक्ता मूल्य सूचकाङ्क गएको अगस्ट महिनामा अघिल्लो वर्षको त्यहि महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचकाङ्क १०० मा रहँदा यस पटकको सूचकाङ्क ११० पुगेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । टोकियोमा खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ । ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुको मूल्य ६.९ प्रतिशतले बढेको छ ।
मुख्यगरी चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ तारिखदेखि बालबालिका स्याहार शुल्क मिनाहा गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ ।
टोकियोको मूल्य सूचकाङ्कलाई जापानभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतका रूपमा लिइन्छ । तर सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अर्को महिना अक्टोबर २४ मा सार्वजनिक हुनेछ ।