अस्कर अवार्डका लागि नेपाली चलचित्रको आवेदन खुला

अस्कर अवार्डका लागि नेपाली चलचित्रको आवेदन खुला

काठमाडौं । विश्वकै प्रतिष्ठित ‘द अस्कर अवार्ड’मा नेपालको तर्फबाट पठाउनुपर्ने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ । 

‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषाका चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेसले तोकेका सबै मापदण्ड पूरा गर्ने उत्कृष्ट चलचित्र छनोट गरी सिफारिस गर्ने जनाएको छ ।

सन् २०२६ मार्च १५ मा आयोजना हुने ९८औँ एकेडेमी अवार्डमा सहभागी हुन २०८१ असोज १५ देखि २०८२ असोज १४ सम्म सार्वजनिक प्रदर्शनमा आएका वा आउने नेपाली चलचित्रहरू योग्य हुनेछन् । चलचित्र दर्ता भदौ २० गतेसम्मको समय तोकिएको छ ।

समितिका अनुसार आवेदन दिने चलचित्रले सेन्सर प्रमाणपत्र, कम्तीमा सात दिन सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने विज्ञापन वा समाचार कटिङ (पहिल्यै प्रदर्शन भएका चलचित्रको हकमा), ओटीटी रिलिज भएमा त्यसको प्रमाणपत्र, ३५ एमएम वा ७० एमएम भिडियो संस्करण, २०४८–१०८० पिक्सेलसम्मको प्रोजेक्टर रेजोल्युसन भएको भिडियो बुझानुपर्नेछ । 

५.१ वा ७.१ अडियो फर्म्याट, निर्देशक–निर्मातासहितको क्रेडिट सूची, अंग्रेजी सबटाइटल, चलचित्रको संक्षिप्त सारांश, निर्देशकको फिल्मोग्राफी र फोटो, ३–५ वटा स्थिर फोटा तथा ६०० डीपीआई टिफ फर्म्याटमा रिलिजको पोस्टर अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

खबरपाटी
खबरपाटी