ग्लोबल आइएमइ बैंकको लाभांश क्षमता बढ्यो, अब कति दिन सक्छ?

ग्लोबल आइएमइ बैंकको लाभांश क्षमता बढ्यो, अब कति दिन सक्छ?

काठमाडौं। ग्लोबल आइएमइ बैंकको नाफा १.१४ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो। 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १३ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा गरेको हो।

बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी सामान्य घटको छ। सेयर लगायतको कारोबार हुने आम्दानी सामान्य बढेको छ।  त्यस्तै, अघिल्लो पटकभन्दा प्रावधान पनि केही बढी राखेको छ। कर कम तिर्न परेपछि नाफा बढ्न सहयोग पुगेको हो।

बैंकले अघिल्लो पटक तीन अर्ब ६१ करोड प्रावधान राखेको बैंकले यस पटक चार अर्ब ३० करोड प्रावधान राखेको छ। 

बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ८५ करोडबाट घटेर १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ। 


बैंकको वितरण योग्य मुनाफा पाँच अर्ब ३७ करोड रुपैयाँ छ। बैंकले १४.११ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ। यसअघि यस्तो क्षमता १.४० प्रतिशत थियो। बैंकले ब्याज नउठेको कारण यसअघि नियामकीय प्रावधानमा राखेको एक अर्ब ३९ करोड रूपैयाँ फिर्ता ल्याएपछि लाभांश क्षमता बढेको हो। 

बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २८ पैसा छ। यस अघि यस्तो आम्दानी १६ रूपैयाँ ९९ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा छ।

खबरपाटी
खबरपाटी