बिहारबाट दिल्ली गइरहेको बसमा भीषण आगलागी, ५ जनाको जलेर मृत्यु

बिहारबाट दिल्ली गइरहेको बसमा भीषण आगलागी, ५ जनाको जलेर मृत्यु

काठमाडौं ।  बिहीबार बिहान भारतको लखनउमा एउटा गुडिरहेको स्लिपर एसी बसमा भीषण आगलागी भएको छ। घटनामा दुई बालबालिका, दुई महिला र एक पुरुषसहित पाँच जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। बसमा करिब ८० जना यात्रु सवार थिए।

उक्त बस बिहारबाट दिल्ली जाँदै थियो। बिहान करिब ५ बजेको समयमा मोहनलालगञ्ज नजिकको बाहिरी रिङरोड ९किसान पथ०मा बसमा अचानक आगो लागेको हो। घटनाको समयमा अधिकांश यात्रुहरू निदाइरहेका थिए।

यात्रुहरूका अनुसार, अचानक बसभित्र धुवाँ भरिन थाल्यो र केही मिनेटमै बस पूरै आगोको चपेटामा पर्‍यो। आगलागीपछि बसमा अफरातफरी मच्चिएको थियो। चालक र कन्डक्टर भने जलेको बस छाडेर भागेका थिए। बसको अगाडिको भागमा एउटा अतिरिक्त सिट भएकाले यात्रुहरूलाई ओर्लन कठिनाइ भएको थियो, जसले गर्दा धेरै यात्रुहरू भित्रै फसेका थिए।

स्थानीय बासिन्दाले तुरुन्तै प्रहरी र दमकललाई खबर गरेका थिए। दमकल पुग्दा बस लगभग पूर्ण रूपमा जलेको थियो। आगो नियन्त्रणमा लिन दमकललाई करिब ३० मिनेट लागेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, बसको आपतकालीन ढोका नखुल्दा पछाडि रहेका यात्रुहरू फस्न पुगेका हुन्। बसमा पाँच–पाँच केजीका सातवटा ग्यास सिलिन्डर पनि थिए, तर तीमध्ये कुनै पनि विस्फोट नभएको बताइएको छ।

खबरपाटी
खबरपाटी