ट्रम्पले रुसी समकक्षी पुटिनसँग गरे टेलिफोन वार्ता

ट्रम्पले रुसी समकक्षी पुटिनसँग गरे टेलिफोन वार्ता

यही नोभेम्बर ५ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचन जितेपछि डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन्। वासिङटन पोस्टका अनुसार ट्रम्पले नोभेम्बर ७ मा रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुरा गरेका हुन्। 

यस विषयमा जानकारमध्ये एक जनाले नाम नछाप्ने सर्तमा ट्रम्पले आफ्नो फ्लोरिडा रिसोर्टबाट पुटिनलाई फोन गरेको बताएका छन्। यस क्रममा ट्रम्पले रुसी राष्ट्रपतिलाई युक्रेनमा युद्ध नबढाउन सल्लाह दिँदै युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको स्मरण गराए।

उल्लेखनीय कुरा के छ भने पुटिनले ट्रम्पलाई चुनाव जितेकामा बधाई दिँदै उनीसँग वार्ता गर्न तयार रहेको बताए। उनीहरूले अमेरिका र रुस सम्बन्धलाई पुनःस्थापना गर्न र युक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा काम गर्नुपर्नेमा जोड दिए। 

फोन संवादका क्रममा दुई नेताले युरोपेली महाद्वीपमा शान्तिको लक्ष्यबारे छलफल  गरे। र, ट्रम्पले युक्रेनमा युद्धको चाँडो समाधानका लागि वार्ता जारी राख्ने इच्छा व्यक्त गरे।

यसअघि ट्रम्पले राष्ट्रपति चुनावी अभियानका क्रममा युक्रेनमा युद्ध तुरुन्तै अन्त्य गर्ने दाबी गरेका थिए। 

मिडिया रिपोर्टका अनुसार यस मामिलाका जानकार व्यक्तिले ट्रम्पले व्यक्तिगत रूपमा रुसले कब्जा गरेको केही क्षेत्र उसैले राख्ने सम्झौतालाई समर्थन गर्ने संकेत गरेको बताएका छन्। ट्रम्पले पुटिनसँगको कुराकानीका क्रममा भूमिको मुद्दा पनि संक्षिप्त रूपमा उठाएका थिए।

खबरपाटी
खबरपाटी