एउटै नदीमा पाँच जलविद्युत् आयोजना

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

पछिल्लो समय म्याग्दीको रघुगंगा गाउँपालिका जलविद्युतको ‘हब’ बन्दै गइरहेको छ । उच्च हिमाली क्षेत्र हुँदै बग्ने राहुघाट नदीबाट आधा दर्जन भन्दा बाढी जलविद्युत आयोजना लाइसेन्स प्राप्त गरेका छन् भने विद्युत प्राधिकरण र निजी क्षेत्रबाट ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित दुई ठूला आयोजनाको काम धमाधम अघि बढिरहेको छ। जलस्रोतको सदुपयोग गर्न सके एउटै नदीबाट धेरै जलविद्युत आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण समेत विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेदीबाट बग्ने रगुगंगा नदी बनेको हो ।

जिल्लाभित्रै निर्माणधिन अवस्थामा रहेको सवस्टेशनको काम अन्तिम चरणमा पुगेपछि लाइसेन्स लिएर बसेका आयोजनाले प्रभावित क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार विस्तारलाई तिब्रता दिएका छन्। विद्युत प्राधिकरणको निर्माणधिन अवस्थामा रहेको रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाटको आयोजनालाई तिब्रता दिएपछि नीजि क्षेत्रले समेत वित्तिय सुनिश्चितता गदैं निर्माणकार्य सुरू गरेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए । ‘केही आयोजनाको सर्वेक्षण भइरहेको छ,‘जलविद्युत आयोजनाले विकास निर्माणका कार्यहरुलाई पनि सघाइरहेको छ’,अध्यक्ष भण्डारीले भने । आयोजनाको पहुँचमार्ग विस्तारको क्रममा कडा चट्टानमा सडक विस्तारमा समेत आयोजनाको ठूलो लगानी रहेको छ ।  

विद्युत विकास विभागले दिएको जानकारी अनुसार रगुगंगा नदीमा विद्युत प्राधिकरणको ४० मेगावाटको रघुगंगा बाहेक टुन्डी पावर लिमिटेड प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको सुरुङ, बाँध, आवास र विद्युतगृहको निर्माण सुरु भएको छ भने तुन्डी पावरनै प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाटको पहुँचमार्ग र आवास क्याम्प लगायतका संरचनामा जनशक्ती परिचालन गरेको छ । एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधिअन्तर्गत एकैसाथ दुई वटा आयोजनाको निर्माणकार्य सुरु गरेको इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए । उनका अनुसार आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ । आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रिय प्रसारण लाइनअन्र्तगत दाना सवस्टेशनमा जोडिनेछ ।  

त्यस्तै संयुक्त उर्जा प्रालीले २१.३० मेगावाट,कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट, ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट, प्रवासी म्याग्देलीहरुको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले ५.५ मेगावाट क्षमताको सर्वेक्षण अनुमति मागेको छ । हाल १४७ मेगावाट क्षमताका ४ वटा जलविद्युत आयोजनाले निर्माणको अनुमति प्राप्त गरिसकेका छन् । रगुगंगाको सहायक नदीहरुबाट समेत सानो क्षमताका थप आयोजना बनाउने तयारी भइरहेकाले  रगुगंगामै मिसिने सहायक नदी समेत गरी करिब एकदर्जन भन्दा बढी विद्युत आयोजना बन्ने गाउँपालिकाले जनाएको छ । ८ वडा रहेको गाउँपालिकामा निर्माणधिन र सर्वेक्षणको अनुमति मागेका आयोजनाहरुको प्रभावित क्षेत्र वडा नं १ बेगखोला र ८ पाखापानी बाहेक सबै पर्छन् ।

खबरपाटी
खबरपाटी