काठमाडौँ । हरितालिका तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले गर्दै आएको सिर्जनशील उद्यमी मेला यस वर्ष शुक्रबारदेखि सुरु भएर आइतबार भव्यताका समथ सम्पन्न भएको छ । २१ संस्करणको मेलामा नवप्रवर्तक (स्टार्टअप) लाई प्राथमिकता दिइन लागिएको आयोजक संस्थाले जनाएको छ ।
दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, शृंगारका प्रसाधन, घरायसी प्रयोजनका लागि आवश्यक सरसामानका साथै खाद्यान्न गरी १ सयभन्दा बढी स्टलहरू राखिएको मेला आम्रपाली ब्यांक्वेट भाटभटेनीमा तीन दिनसम्म चलेको थियो ।
महिलामा सीप र दक्षता अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले केन्द्रले मेलाको आयोजना गर्दै आएको छ । मेलामा महिलाले घरमै बनाएका हस्तकलाका सामानलगायत महिला बचत तथा वित्तीय पहुँचसम्बन्धी र प्रविधिमैत्री संघसंस्थाहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।
सुस्ताएको अर्थतन्त्रलाई चाडवाडको समयमा यस्ता मेलाहरुले जिवन्त पारिदिने मेलामा सहभागी अमृत तेलका बजार प्रबन्धक विश्रान्त कोइराला बताउँछन् । मेलामा तिजको अवसरमा महिला दिदिबहिनीहरुको बाक्लो उपस्थीती रहेको कोइरालाको भनाई छ ।
राइजिङ नेपाल प्रालि र इभेन्टसंसार डटकमको व्यवस्थापनमा आयोजना भएको मेलालाई डाबर नेपालको डाबरगुलावरीले मुख्य प्रायोजन गरेको थियो ।