
काठमाडाैं - नेपाल धितोपत्र बोर्डले ६ महिनापछि बल्ल हकप्रद बिक्रीका लागि एउटा कम्पनीलाई अनुमति दिएको छ । बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । कम्पनीले १ बराबर १ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्नेछ ।
यस कम्पनीले अनुमति पाएसँगै पाइपलाइनमा प्रकृया पूरा गरेर बसेका अरु कम्पनीहरुले पनि क्रमशः हकप्रद बिक्रीका लागि स्वीकृति प्राप्त गर्दै जाने देखिएको छ । हाल बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले कुल १० अर्ब ३७ करोड ४५ लाख २८ हजार रुपैयाँ बराबरको हकप्रद बिक्रीका लागि अनुमति मागेका छन् । जसमध्ये, ८ वटा हाइड्रोपावर, २ वटा जीवन बिमा र २ वटा निर्जीवन बिमा कम्पनीहरु रहेका छन् । हाइड्रोपावर कम्पनीहरुले कर्जा तिर्न वा अन्य आयोजनमा लगानी गर्न पुँजी संकलनका लागि हकप्रद जारी गर्ने लागेका छन् भने बिमा कम्पनीहरुले बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद बिक्री गर्न लागेका हुन ।
हकप्रदका लागि अनुमति पाएपछि अब आइपीओ जारी गर्न लागेका कम्पनीहरुले पनि अनुमति पाउने देखिन्छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि आइपीओ, हकप्रद, डिबेन्चर लगायत सार्वजनिक निष्कासन रोकिएको थियो । ६ महिनादेखि रोकिएको हकप्रद निष्कासन अनुमति अहिले फेरि सुरु भएको छ।