काठमाडौं चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवालाई समतामुलक ढंगले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले वास्थ्य बीमा ऐनको प्रावधानअनुसार औपचारिक क्षेत्रहरु शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिहरुको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमामा आकर्षण बढाउन विमितले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौति रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमालाई अझ बढी प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, समयमै शोध भर्ना प्रविधिमैत्री बमिा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरु चुनौति लक्षित सुधारका योजनाहरु रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा तथा सिफारिसहरुमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्ने जस्ता महत्वपूर्ण नीतिगत सुधारका लागि गृहकार्य भइरहेको बताउनुभयो ।
सरकार बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण एवं प्रभावकारिता ल्याउन प्रतिवद्ध रहेको बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा विकास गर्न सक्ने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुग्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।