विश्वभर मिथेन ग्यास उत्सर्जनको अवस्था अध्ययन गर्दै गुगल

नयाँ उपग्रहले हरेक दिन १५ पटक पृथ्वीको परिक्रमा गर्ने

विश्वभर मिथेन ग्यास उत्सर्जनको अवस्था अध्ययन गर्दै गुगल

विश्वभर मिथेन ग्यास उत्सर्जनको अवस्था अध्ययन गर्न गुगलले आउँदो महिना उपग्रह परीक्षण गर्ने भएको छ । नयाँ उपग्रहले हरेक दिन १५ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।

अहिले जलवायु परिवर्तनको मुख्य कारण मिथेन ग्यास उत्सर्जन रहेको वैज्ञानिकले जनाएका छन् । खेतीपाती, पशुपालन, प्राकृतिक ग्यास र फोहोरको व्यवस्थापनबाट मिथेन ग्यास उत्पादन हुन्छ । तर गुगल परियोजनाले तेल र ग्यास प्लान्टहरूमा मिथेन उत्सर्जनमा ध्यान केन्द्रित गर्नेछ । तेल र ग्यास निकाल्ने कम्पनीहरूले नियमितरूपमा मिथेन जलाउँछन् वा निकाल्छन् ।

गुगलको नयाँ परियोजना गुगल र पर्यावरण रक्षा कोषबीचको सहकार्य हो । यस उपग्रहबाट प्राप्त डाटालाई गुगलकै एआईले अध्ययन गर्नेछ । अध्ययनको निष्कर्षलाई विश्वभरका तेल र ग्यास पूर्वाधारमा मिथेन चुहावट पहिचान गर्ने उद्देश्यले मिथेन नक्सा बनाउन प्रयोग गरिनेछ । निष्कर्षलाई विभिन्न सरकार र कम्पनीलाई बुझाउने र ग्यास उत्सर्जन वा चुहावट कम हुने गुगलको अपेक्षा छ ।

सन् २०२२ मा भएको एक अध्ययनले सबैभन्दा ठूलो मिथेन उत्सर्जनमा तुर्कमेनिस्तान, रुस र अमेरिका देखिएका थिए । चीन र क्यानडाको पनि ठूलो हिस्सा थियो । अहिले मिथेनको स्तर चिन्ताजनकरूपमा उच्च रहेको छ । नासाका अनुसार पछिल्लो दुई सय वर्षमा ग्यासको स्तर दोब्बरभन्दा बढी भएको छ र यसको ६० प्रतिशत मानव गतिविधिले सिर्जना गरेको हो । गाईपालनका कारण मिथेन ग्यास निकै बढ्ने अध्ययन पनि सार्वजनिक भएका छन् । सन् २०२० मा अमेरिकी वातावरण संरक्षण एजेन्सीले गरेको अध्ययनले एउटा गाईले हरेक वर्ष एक सय ५४ देखि दुई सय ६४ पाउन्ड मिथेन ग्यास उत्पादन गरेको देखाएकाे थियो । मासु र दूधका लागि विश्वभर एक अर्ब ५० करोड वटा गाई पालेको अनुमान गरिएको छ ।

खबरपाटी
खबरपाटी