नेपाली मूलको कम्पनी अमेरिकी सेयर बजारमा सूचीकृत हुँदै

नेपाली मूलको कम्पनी अमेरिकी सेयर बजारमा सूचीकृत हुँदै

नेपाली मुलका व्यवसायी समिर मास्केको कम्पनी फ्युज मेसिन इंक अमेरिकी सेयर बजार नासडाकमा सूचीकृत हुने भएको छ। 

कम्पनीको सेयर कारोबार “एफयुएसईु”को नामबाट हुनेछ।

सन् २०१३ मा मास्केले यो कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी स्टार्टअप कम्पनी स्थापना गरेका थिए। व्यावसायिक प्रयोजनको लागि कम्पनीले कृत्रिम बौद्धिकतासम्बन्धी उत्पादन गर्दै आएको छ।

मिडिया कम्पनी टाइम इन्क, एयसपोर्ट कन्सेसन अपरेटर ओटिजी लगायतलाई कम्पनीले आफ्नो उत्पादन बिक्री गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गले उल्लेख गरेको छ। 

हालै २० करोड अमेरिकी डलरसम्झौता सहित फ्युज मेसिन इंक र ब्ल्यांक चेक कम्पनी सिएसएलएम एक्विजिसन कर्पसँग मर्ज हुन लागेका हुन्। मर्जरबाट प्राप्त हुने रकम यो कम्पनी विस्तार गर्न र अझ प्रभावकारी कृत्रिम बौद्धिकतासम्बन्धी उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। 

फ्युज मेसिन इंक सिएसएलएम एक्विजिसन कर्पसँग आगामी दोस्रो त्रैमाससम्ममा मर्ज हुने उल्लेख गरिएको छ। सिएसएलएम एक्विजिसन कर्पसँगको सम्झौताका कारण कम्पनीले सेयर निष्कासन गरेर मात्रै बजारमा सूचीकृत हुनुपर्ने परम्परागत तरिकाभन्दा सजिलोसँग बाटो खुलेको हो। व्यवसायिक योजना नभएका र विकासकै चरणमा रहेका सूचीकृत कम्पनीहरूलाई ब्ल्यांक चेक कम्पनी भनिन्छ। 

नेपालमै जन्मिएर यही हुर्किएका मास्के स्नातक अध्ययनको लागि अमेरिका पुगेका थिए। उनले कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधी समेत गरेका छन्। सन् २०१७ मा मास्केले नेपालमा फेलोसिप कार्यक्रम चलाएर विधार्थीहरूलाई परिक्षण दिएका थिए भने पछि ती विधार्थीहरूलाई कम्पनीमै रोजगारी समेत दिए। 

फ्युज मेसिनको सुरुआती समयको ग्राहकमा सिटी अफ न्यूयोर्क थियो, जसको लागि कम्पनीले हजारौं च्याटबट तयार गरेको थियो। 

यो स्टार्ट कम्पनीले सुरूमा एक करोड अमेरिकी डलर बिउ पुँजी (सिड मनी) उठाएको थियो। जसलाई डोल्मा इम्प्याक्ट फण्ड र फ्युचर पर्फेक्ट भेन्चर्सले लगानी गरेको थियो। यसले हाल नेपाल र उत्तर अमेरिकाका पाँच सयभन्दा धेरैलाई रोजगारी दिएको छ।
 

खबरपाटी
खबरपाटी