जनमत पार्टीका मन्त्रीले मुख्यमन्त्री यादवलाई बुझाए राजीनामा

जनमत पार्टीका मन्त्रीले मुख्यमन्त्री यादवलाई बुझाए राजीनामा

मधेस प्रदेश सरकारमा सहभागी भएका जनमत पार्टीका मन्त्रीद्वयले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

मुख्यमन्त्रीको निवासमा पुगेर मंगलबार साँझ शिक्षा तथा संस्कृति मन्त्री एवं जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री यादव समक्ष राजीनामा बुझाएका हुन्।

मंगलबार जनमत पार्टीले मधेसमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। फिर्ता लिएसँगै सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा बुझाएका हुन्। 

सोमबार सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका शिक्षा मन्त्री यादव लगायत नेताहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। 

सरकारको निर्देशनमा जनमत पार्टीका नेताहरूमाथि लाठी प्रहार गरी घाइते बनाएको र क्रूर तानाशाही कदम चालेको भन्दै राजीनामा बुझाएको जनमतका संसदीय दलका नेता यादवले बताए। विश्वविद्यालयको शिलान्यास जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेपछि जनमतका सांसदहरूले विरोध जनाएका थिए। 

यसैबीच जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि विज्ञप्ति जारी गर्दै मन्त्रीहरूले किसानका लागि सकारात्मक कार्यक्रमहरू ल्याएर लोकप्रियता पाइरहेको बेला पार्टीको भागमा परेको मन्त्रालय खोस्ने काम भएको बताएको छ।

पार्टीले स्वास्थ्य र खेलकुद क्षेत्रमा राम्ररी काम गर्न लाग्दा मन्त्रालयलाई पटकपटक फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालयमा सिमित गरिएको विज्ञप्तिमा भनिएको छ।

खबरपाटी
खबरपाटी