काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि फागुन महिनामै छलफल गर्ने भएको छ ।
बुधबार मनित्रपरिषद बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई अध्यादेशमार्फत संशोधन गर्न राष्ट्रिपतिसमक्ष पठाउने निर्णय गरेको छ । अध्यादेशमार्फत उक्त ऐनमा रहेको बजेटपूर्व ९प्रि बजेट० को प्रक्रियाहरुको कार्यतालिकाहरु फेर्न लागिएको एक मन्त्रीले जानकारी दिए ।
अर्थ मन्त्रालय स्रोतका अनुसार हाल बजेट आउनुभन्दा १५ दिनअघि संसदमा बजेटको सिद्धान्त तथा प्राथमिकताबारे छलफल हुने गरेको थियो । तर अब यस्तो छलफल फागुन मसान्तसम्म ल्याउनुपर्ने व्यवस्था गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको हो । चैत १५ भित्र संसदले सो विषयमा छलफल सक्ने गरी अध्यादेशमा व्यवस्था गरिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा नै आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश गर्ने व्यवस्था मिलाइने घोषणा भएको थियो ।
‘यसबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता उपर पर्याप्त छलफल गरी माननीय सदस्यहरूबाट प्राप्त मार्गदर्शन र सुझावका आधारमा यथार्थपरक बजेट तर्जुमा गर्न सघाउ पुग्ने विश्वास लिएको छ,’ अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट वक्तव्यमा भनेका थिए ।
नयाँ कार्यतालिका पछि चैतमै प्रि–बजेट छलफल हुने छ । नयाँ बजेटको क्यालेन्डरअनुसार माघ मसान्तसम्म स्रोत समितिले बजेटको स्रोतको अनुमान तयार गर्नेछ ।
यसअघि माघ १५ सम्म स्रोत टुंगो लगाउने व्यवस्था थियो । बजेटको मन्त्रालयगत सिलिङ फागुनको पहिलो हप्तासम्म पठाउने गरी व्यवस्था गरिएको छ ।
त्यसपछि फागुनभित्रै बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेर १५ चैतभित्र संसदले सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनेछ । त्यसपछि मात्रै अर्थ मन्त्रालयले बजेट तयार गर्नेछ । संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा बजेट पेश हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताउँदै आएका थिए । नीति तथा कार्यक्रम र बजेट बनाउने प्रणाली फेर्ने घोषणा अनुरुप नै सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने बताउँदै आएका छन् ।