काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने कुरामा कांग्रेसले योग्यता राख्न नसकेको बताएका छन्।
शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर २ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले ठूलो पार्टी कांग्रस रहे पनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारमा पुर्याएको कांग्रेसले चाहे सरकारबाट हटाउन सक्ने हैसियत पार्टीमा रहेको बताए। कांग्रेस संसदको ठूलो पार्टी भए पनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए।
महामन्त्री थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरूले ज्यान गुमाउन परेको बताए। उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्ने बताए। पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्ने उनको जोड थियो।