बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार छैन् : मन्त्री ज्वाला

बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार छैन् : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन्।

शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रीय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताए। पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उनले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए।

उनले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताए। गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ।

उनले भने, ‘आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा समेत आगजनी गरियो। यो घटनाप्रति दुःख व्यक्त गर्दछु। मान्छेको ज्यान जाने कुरा र घाइते हुने कुरा पनि दुःखद् कुरा हो। आज बालकुमारीमा भएको घटनाका सम्बन्धमा हामीलाई न जानकारी छ, पूर्वजानकारी पनि छैन, न सम्बन्ध छ न सरोकार छ। हाम्रो मन्त्रालयसँग यसको कुनै सरोकार नै छैन।’

उनले थपे,’बिना कारण, सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ, जो जसको सरोकार जहाँ थियो, त्यो एउटा विषय होला। हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण छैन। गोली चल्ने कुरा, मान्छेलाई गोली लाग्ने कुरा, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुने कुरा धेरै त मलाई जानकारी छैन, गाडी आफ्नो बाटोमा मन्त्रालय गइरहेको बेलामा घेराउमा पर्‍यो र आगजनी गरियो। यो खेदजनक कुरा हो। अरु घटनाका सम्बन्धमा म धेरै जानकार छैन। हाम्रो मन्त्रालयको व्यक्तिगत रुपमा मेरो यो घटनामा कुनै सरोकार र सम्बन्ध केही छैन।’

खबरपाटी
खबरपाटी