प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन नल्याए सिंहदरबार घेर्छौँ : शर्मा

प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन नल्याए सिंहदरबार घेर्छौँ : शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

शनिबार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरु पूरा गर्न आग्रह गरे।

उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताए। उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।

उनले भने,’…आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ।’

महामन्त्री शर्माले रुस–युक्रेनको सेनामा अवैधानिक रुपले नेपालीहरुलाई पुर्‍याउनेहरुलाई कारबाही गर्नुपर्ने बताए। उनले युद्धमा मृत्यु भएका नेपालीहरुको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरुसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे।

उनले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबण्डा नभइ योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए।

खबरपाटी
खबरपाटी