विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि असफल भने नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘मैले जति सोचेको हो, त्यसरी भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सीमा अप्ठ्यारो हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारीको कुरा हो । तर, जे जति सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरा छ मेरो दाबी के हो भने सफल भएको छु भन्ने लागेको छ,’ उनले भने, ‘मिडियामा पनि पुरै नबुझी लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन । तर, सरकारले सामाजिक न्याय, मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो ? भू–माफियाविरुद्ध कदम चालिएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ ।’
उनले आफ्नो पार्टीको नामबाट कम्युनिस्ट हटाउन लागेको भन्ने चर्चा सही नभएको पनि बताए । ‘कम्युनिस्ट पार्टीको नाम कहिल्यै पनि परिवर्तन हुँदैन । खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुनसक्छ । भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी समाजवादी भन्ने पनि हुनसक्छ । हामी छलफलमा छौं,’ उनले भने, ‘संविधानले पनि समाजवाद भनेको छ भने समाजवादको भाव आउने नाम दिनु अहिलेको वस्तुसंगत हुन्छ भनेका छौं ।’
प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको ब्रिफिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको बताए । ‘सबै मन्त्रालयको ब्रिफिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो । अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ,’ उनले भने ।