एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, तीन विषयमा छलफल

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, तीन विषयमा छलफल

सत्ता साझेदार दल एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्दैछ।

पार्टी कार्यालयमा साढे ११ बजे बैठक बोलाइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। यो एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक हो।आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुने उपाध्यक्ष पाण्डेले जानकारी दिए।

‘हामीले जिल्लाजिल्लामा संगठन निर्माण गर्ने गरी दुई महिने अभियान सञ्चालन गर्न लागेका छौं, यसबारे कार्ययोजनासहित छलफल हुन्छ,’ उनले भने।एकीकृत समाजवादीले माघको १४ र १५ गते विधान मस्यौदामाथि छलफल गर्ने गरी केन्द्रीय परिषद् बोलाउने तयारी गरेको छ। उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको विधान मस्यौदा समिति पनि बनाएको छ।

सोमबारको सचिवालय बैठकमा  समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल र केन्द्रीय परिषद् बैठकको प्रस्ताव तयार पार्ने पनि उपाध्यक्ष पाण्डेले जानकारी दिए।

यस्तै, आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न मापदण्ड बनाउनेबारे पनि विषय प्रवेश हुने उनले बताए।‘हामीले गठबन्धनबाट कति सिट पाउने भन्ने टुंगो लागिसकेको छैन। उम्मेदवारको मापदण्ड तोक्नेबारे छलफल हुन्छ,’ उनले भने।

 

खबरपाटी
खबरपाटी