काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले शिक्षा क्षेत्रमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले अभिभावकले छोराछोरीको शिक्षाका लागि जोड दिनुपर्ने बताए ।
‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन,ु उनले भने ।
मन्त्री महतले सरकारले पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको तर नुवाकोट क्षेत्रको सामुदायिक शिक्षा भने पछि परेको बताए । ‘शिक्षाको मन्दिरको प्रांगणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’
मन्त्री महतले आफू देशको अर्थमन्त्री भए पनि मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा रहेको दाबी गरे । ुम अप्ठ्यारो समयमा अर्थमन्त्री भएको छु, बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो, बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौं, मन्त्री महतले भने, समर्पण र इमान्दारका साथ काम गर्ने कोसिस गरिरहेका छौं । मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।