काठमाडौँ । सरकारले नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ।
मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था र कार्यक्षेत्र विस्तारमा अनिश्चितकालका लागि रोक लगाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ।
सहकारी संस्थाहरूले ठूलो बचत स्वीकार गर्ने र जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ।
त्यसो हुँदा वचतकर्ताको वचत फिर्ता हुन नसक्ने र यसले सहकारीमा गम्भीर समस्या सिर्जना भई सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले तत्कालका लागि सहकारी संस्थाको दर्ता र कार्य क्षेत्र विस्तारमा रोक लगाइएको मन्त्रालयले जनाएको छ।
‘यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०र७र२३ मा निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।