काठमाडौं । भारतबाट ल्याउने भनिएका १५ वटा मुर्रा राँगा नेपाल भित्रिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारीअनुसार भारतबाट प्राप्त हुने १५ वटा राँगाहरु आज क्वारेन्टाइन पूरा गरी नेपाल ल्याइएको छ ।
नेपालगन्जको जमुनाहा नाकाबाट ती राँगाहरु नेपाल भित्र्याइएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी गराएका छन् ।
“भारतसँगको सहमतिअनुसार मिति २०८०–०८–०६ गते बाँके जिल्ला जमुनाहा नाका हुँदै उक्त राँगाहरु नेपाल भित्रिएको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यमान क्वारेन्टाइन प्रक्रिया पूरा गरी नेपाल ल्याइने राँगाहरु लाहान, पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयहरुबाट हाल उत्पादन भइरहेको जमेको वीर्यको परिमाण व्यवस्थापकीय क्षमता र कार्यक्षेत्रको आधारमा भारतबाट प्राप्त हुने १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् लाहानमा ५ र नेपालगन्जमा ३ वटा राखिने छ ।”
उनका अनुसार मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै देशका विभिन्न भागमा भैंसीको नश्ल सुधारमार्फत् दूध र मासुको उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको उनले बताएका छन् ।