नेपाल वेयरहाउजिङ्गले मंसिर १० देखि सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने

नेपाल वेयरहाउजिङ्गले मंसिर १० देखि सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन पाइने छ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा भने निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिने छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यस्तो छ कम्पनी:

नेपाल वेयरहाउजिङ्ग नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित कम्पनी हो ।

नेपालमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आईरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म यो कम्पनी प्रतिसेयर ८.८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिसेयर ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ हुने प्रक्षेपण छ ।
 

खबरपाटी
खबरपाटी